रामेछापको उमाकुण्ड गाँउपालिकामा रहेको ईलाका प्रशासन कार्यालयबाट सेवा प्रबाह सुचारु भएको छ । बिगत डेढ वर्षदेखि बन्द रहेको लाप्चाने स्थित ईलाका प्रशासन कार्यालयको मंगलबारबाट सेवा प्रबाह पुनः सुचारु भएको हो ।

बन्द रहेको ईलाका प्रशासन कार्यालय पुनः सुचारु भए सँगै उमाकुण्ड गाउँपालिकाका स्थानीय नागरिकहरुमा खुशियाली छाएको छ । यसअघि यहाँका नागरिक नागरिकता लगाएत प्रशासनिक कामको लागि घण्टौ लगाएर सदरमुकाम मन्थली जानुपर्ने बाध्यता थियो ।

इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक जना सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । कार्यालय सञ्चालमा आएपछि उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई अब नागरिकता लगायतको सेवा लिनको लागि सदरमुकाम मन्थली धाउन पर्ने बाध्यता हटेको छ ।

 

 

जिल्ला प्रशासन कार्यालय रामेछाप र सम्बन्धित निकायहरुसँगको निरन्तर समन्वय र पहलपछी पुनः सेवा सुचारु गर्न सफल भएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।मंगलबार ईलाका प्रशासन कार्यलय लाप्चानेबाट नेपाली नागरिकताको प्रमाणपत्र बितरण गरि सेवा सुचारु गरिएको छ । बिगतमा कर्मचारीहरुको बसाईमा असहजता, भौगोलिक बिकटता लगाएत बिभिन्न समस्याका कारण सेवा बन्द भएको थियो । 

ईलाका प्रशासन कार्यालय लाप्चानेबाट रामेछाप जिल्लाको उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुँभुकास्थली, ठोसे र बाम्तीका नागरिकलाई सेवा लिन सहज हुनेछ ।
शाखा अधिकृत लेखनाथ खतिवडाको नेतृत्वमा संचालन गरिएको ईलाका प्रशासन कार्यालय लाप्चानेमा सेवा सुचारु भएको पहिलो दिनमा नै सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो ।