काठमाडौं । सरकारले बजेटमार्फत कर्मचारीलाई १० दिने भ्रमण छुट्टी दिने उद्घोष गरेसँगै उक्त बाचा आगामी भदौदेखि सरकारले कार्यान्वयन गर्ने भएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो।
बजेट मार्फत ल्याईएको उक्त भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका तयार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गरिरहेको र आगामी भदौदेखि कार्यान्वयनमा ल्याउने गरी तयारी थालेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार बजेटमार्फत ल्याईएको भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि केही ढिलाई हुन गएको बताए।
तयार भइरहेको भ्रमण छुट्टी निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ। निर्देशिकामा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनै पर्ने भनिएको छ। त्यसरी भ्रमण गर्दा १० दिनसम्मको कुनै तलव सुविधा नकाटिने मन्त्रालयले जनाएको छ। अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

