रामेछाप। गोकुलगंगा गाउँपालिकामा प्रदेश सुशासन केन्द्रको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ। गाउँपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू लगायत कार्यरत कमर्चारीहरूका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण विषयक अभिमुखिकरण कार्यक्रम आईतबारबाट सञ्चालन भएको हो।
लैङ्गिक समानताका लागि समान सोँच र व्यवहार: समृद्धिको आधार भन्ने नाराका साथ सञ्चालित अभिमुखिकरण कार्यक्रमको मूख्य उद्देश्य योजना तर्जुमा, योजना तथा कार्यक्रम छनौट, योजना छनौट र सामाजिक मूलप्रवाहीकरणका विषयमा लैङ्गिक समानता र समावेशीकरणका कुरालाई के कसरी सम्बोधन गर्न सकिन्छ, कसरी समान सहभागिता कायम गर्न सकिन्छ, कसरी योजना तर्जुमा गर्ने लगायतका विषय रहेको सुशासन केन्द्रका प्रशिक्षक जानुका न्यौपानेले जनचासो स्रोतलाई जानकारी दिनु भयो।
कार्यक्रमको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले गर्नु भयो। अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रदेश सुशासन केन्द्रका प्रशिक्षकद्वय जानुका न्यौपाने र प्रमिला सुवेदीले गर्नु भएको थियो।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू गाउँपालकाका कार्यरत कर्मचारीहरू सहित ३५ जना सहभागिहरूको उपस्थिति रहेको छ।

