खाङसाङ। फिक्कल गाउँपालिकाको आयोजनामा विद्यालय उमेरका किशोरीहरूलाई आधारभुत कानूनी साक्षरता तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा महाकाली मा.वि. पोटी भञ्ज्याङका किशोरीहरूलाई तीन दिने तालिम दिईएको हो।
माध्यामिक विद्यालय पोटी भञ्ज्याङ खाङसाङका कक्षा ८, कक्षा ९ र कक्षा दशमा अध्ययनरत कम्तिमा ४० जना किशोरीहरूलाई आधारभुत कानूनी साक्षरता र आत्मरक्षा सम्बन्धी तीन दिने तालिम दिईएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जनचासो खबर स्रोतलाई जानकारी दिनु भएको छ।
विद्यालय उमेरका किशोरीहरूमा आधारभुत कानूनी ज्ञान र आत्म रक्षा तालिम वर्तमान समयको आवश्यकता भएकाले गाउँपालिकाले त्यस सम्बन्धी तालिम सञ्चालन थालेको उपाध्यक्ष सुनुवारले बताउनु भयो। यस आ.व. मा महाकाली मा.वि. पोटी खाङसाङ भञ्ज्याङमा सम्पन्न गरिएको तालिम कार्यक्रम नयाँ आ.व.मा गाउँपालिकाका सबै विद्यालयहरूमा सञ्चालन गर्ने योजना रहेको बताउनु भयो।
गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने तालिम कार्यक्रममा सन्जु महर्जन र भगवती अधिकारीले प्रशिक्षण गर्नु भएको थियो। तीन दिने तालिम समापन कार्यक्रममा आत्मरक्षा संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष डिबी राना, वडा अध्यक्ष गोपाल मगर, गाउँकार्यपालिका सदस्य बिष्णु कुमारी घिमिरे, विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद पहाडी लगायतको उपस्थिति रहेको थियो।

