खाङसाङ। सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा न्यायमा समान पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत कानूनी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाको सबै वडाहरूमा कार्यक्रम सम्पन्न आयोजना गरिएको हो।
सचेतना कार्यक्रम कानूनी अनभिज्ञताकै कारण कोही पनि नागरिक कानूनी दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका न्यायिक प्रमुख तथा उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भएको छ। कार्यक्रममा कस्ता कार्यहरू कानूनद्वारा दण्डित हुन्छन्? सामान्यदेखि जघन्य अपराधहरू के के हुन्? त्यस्ता घटनाको के कस्ता कानूनी उपचार हुन्छन्? कसरी उजुरी दिने? कहाँ उजुरी दिने? कानूनी सजायको के कस्ता व्यवस्था छन्? कानूनी प्रक्रिया के छ? जस्ता कानूनी सचेतना गराइएको छ बताउनु भयो।
कार्यक्रममा गाउँपालिकाको न्यायिक समितिले हेर्ने मुद्दाहरूको जानकारी गराइएको छ। कानूनको पालना सबैलाई समान र अनिवार्य हुने भएकाले कानून नजानेकै कारण कसुर क्षम्य नहुने लगायतका जानकारी कानूनी सचेतना कार्यक्रम मार्फत जानकारी गराइएको उपाध्यक्ष सुनुवारले बताउनु भयो। सचेतना कार्यक्रममा गाउँपालिकाका सबै वडाहरूका विद्यार्थी, नागरिक समाजका पदाधिकारीहरू, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाको न्यायिक समितिको कानूनी सचेतना कार्यक्रमले कानूनको अनभिज्ञता हटेर जाने र समाजमा लुकेर रहेका घटनाहरूको कानूनी उपचार खोज्न आम नागरिक सक्षम हुने उपाध्यक्ष सुनुवारले बताउनु भयो।

