नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यलयको भवन निर्माणको लागि जग्गाको बैना गरिएको छ। १२ धुर को ७१ लाख ५० हजारमा खरिद गरिने जग्गाको आज ५ लाखमा बैना गरिएको हो।
कमलामाई नगरपालिका वडा नं. ६ स्थित दुई नम्बर बजार भगवती बोर्डिङ अगाडिको जग्गा खरिद गरिने भएको माओवादी केन्द्रका सिन्धुली जिल्ला पार्टी अध्यक्ष राजन दाहालले बताए । जिल्ला पार्टी अध्यक्ष दाहालले आफ्नै पार्टीका कार्यकर्ताको सहयोगमा पार्टी कार्यलय निर्माण गर्ने घोषणा गरे सँगै आज कार्यलय निर्माणको लागि १२ धुर जग्गा बैना गरिएको बताए। भदौ १ गते जग्गा पास गर्ने गरी जग्गाको आज बैना गरिएको हो।
नेकपा हुँदा तत्कालिन एमालेको पार्टी कार्यलय आजाद स्मृति भवनमा संयुक्त पार्टी कार्यलय रहेको थियो। त्यसपछि २ नम्बर बजारमा भाडामा पार्टी कार्यलय बस्दै आएको छ। अन्य राजनैतिक पार्टीले जसरि वर्षै पिच्छे पार्टी कार्यलयको भवन निर्माणको लागि विकास बजेट नल्याएको अध्यक्ष दाहालले बताए । पार्टीसँग आस्था राख्ने व्यक्तित्व तथा कार्यकर्ताको सहयोग र पसिनामा पार्टी कार्यलयको भवन निर्माण गरिने दाहालले बताएका हुन्। करिब १ वर्षको अवधिमा १ करोड लगानीमा भवन निर्माण हुने दाहालले बताए। जसका लागि सम्पूर्ण आफ्नो पार्टीलाई विश्वास गर्ने कार्यकर्ताहरुलाई सहयोगका लागि आह्वान गरेका छन्। दाहालले गत बिहीबार पार्टी कार्यलयको भवन निर्माणको लागि घोषणा गरेका थिए। सोही दिन आफैले २ लाख १ हजार १ सय ५१ रुपैया सहयोग गर्न प्रतिवद्धता जनाएका थिए। तीन दिनमा २५ देखि ३० लाख रुपैया सहयोग जुटेको बताइएको छ । देश तथा विदेशमा रहेका पार्टीप्रति विश्वास आस्था राख्ने धेरै व्यक्तिहरुले सहयोग गरिरहेका छन्।

