काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिओपन सेसनमा ५% ले शेयर मुल्य घटबढ गर्न मिल्ने नियमलाई परिमार्जन गरी  २% कायम गरेको छ भने दोस्रो बजारमा शेयर कारोबार हुँदा हाल रहेको न्यूनतम मूल्य १ रुपैयाँलाई घटाएर १० पैसा कायम गरेको छ ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई दोस्रो पटक संशोधन गरी धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको छ ।

प्रारम्भिक सत्र (प्रि ओपन सेसन) मा कारोबार भएका शेयरको मूल्यमा हुँदै आएको अस्वभाविक उतरचढावलाई व्यवस्थित गर्न उक्त सत्रमा हुने शेयरमूल्यको परिवर्तन सीमालाई घटाइएको बोर्डले बताएको छ । 

शेयर बजारको विकास र विस्तारका लागि सुधारका लागि बोर्डले चालेको यो कदमले प्रि ओपनिङ्ग सेसन थप व्यवस्थित हुनुका साथै न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्दा दोस्रो बजारको कारोबार थप लगानीकर्ता मैत्री हुने बोर्डको विश्वास रहेको छ ।