सिर्जना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकाले ६७ करोड १९ लाख ४३ हजारको बजेट विनियोजन गरेको छ। आज गाउँपालिकाको नवौ गाउँसभामा उपप्रमुख राधिका श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयन गर्न बजेट सार्वजनिक गर्नुभएको हो।
गाउँपालिकाले कुल बजेटमध्ये चालुतर्फ ७ करोड ९६ लाख २० हजार विनियोजन गरेको छ। पुँजीगत लगायत अन्य कार्यक्रमतर्फ २९ करोड १ लाख २० हजार सामाजिक सुरक्षा भत्ताबापत ७ करोड २५ लाख नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त समपरक र विशेष अनुदान रकम २३ करोड ९८ लाख ३ हजार विनियोजन गरेको छ । यस्तै आर्थिक बिकासतर्फ १ करोड ९३ लाख सामाजिक बिकासतर्फ ५ करोड ७१ लाख २० हजार पुर्वाधार बिकासतर्फ १८ करोड ६८ लाख वन वातारण तथा विपद् व्यबस्थापनतर्फ १ करोड ९६ लाख सुशासन तथा संस्थागत बिकास तर्फ ७३ लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाले पूर्वाधार विकासको साथै कृषि क्षेत्रको चौतर्फी विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने नीति लिएको छ । अध्यक्ष खड्ग बहादुर सुनुवारले कृषि तथा पशुपालनको कार्यक्रमलाई प्राथमिता दिदै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभयो ।

