काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा रिक्त रहेका पदहरूमा पदाधिकारी नियुक्ति गरेका छन्। संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ, लोक सेवा आयोगको अध्यक्षा माधव प्रसाद रेग्मी, सदस्यहरूमा माधव वेल्बासे, बीर बहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीलाई नियुक्त गरेको छ।
निर्वाचन आयोगको आयुक्त निर्वाचन आयुक्तमा सगुन शम्शेर जं वा राणा नियुक्त भएका छन्। त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिन राज निरौला, राष्ट्रिय महिला आयोगका सदस्यहरूमा जया घिमरे, सावीत्रा कुमारी शर्मा, सुन्दर पुर्कुटी, राम कृष्ण तिमल्सेना, पुष्पराज तिमिल्सिना, मान प्रसाद खत्री नियुक्त भएका छन्। सुर्य बहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मधेशी आयोगको सदस्यमा आभा कुमारीलाई नियुक्त गरेको छ भने थारु आयोगको सदस्यमा उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी र मुस्लिम आयोगको सदस्यमा मोहम्मद समशुल हक नियुक्त भएका छन्।

