सिन्धुली। सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नं. १ स्थित जनजागृति माध्यामिक विद्यालयका एक विद्यार्थी पटक पटक आफ्नै शिक्षकबाट बलात्कृत भएको खुलेको छ। बलात्कृत छात्रा १७ वर्षिया छात्रा परिवर्तित नाम (पूर्णिमा विश्वकर्मा) को करणीपछि गैर कानूनी ढंगले गर्भ पतन गराउन खोजिएपछि घटना बाहिरिएको हो।

वि.सं. २०७४ सालको जेठबाट विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक प्रेम बहादुर विश्वकर्माले कक्षा ९ मा अध्ययनरत छात्रा परिवर्तित नाम (पूर्णिमा विश्वकर्मा) लाई माया प्रेमको आश्वासन देखाई दुई वर्षदेखि पटक पटक बलात्कार गर्दै आएका हुन्। विद्यार्थीलाई करणी गरे पश्चात गर्भ रहेको थाहा पाएका शिक्षक विश्वकर्माले छात्रालाई जबरजस्ती गर्भ निरोधक चक्की सेवन गराउने प्रयास गरेको पीडितका अभिभावकले जनचासो स्रोतलाई जानकारी दिएका छन्। 

घटना खुल्ने डरले पीडक पक्षले पीडित पक्षलाई घटना गुपचुप राखि गाउँमै मिलेमतो गर्न खोजिएको बुझिएको छ। घटना मिलाउन पीडक पक्षले गाउँका केही व्यक्तिहरूलाई भेटेर घटना गाउँमै मिलाउने र बिवाह गर्ने प्रयासमा लागेको बुझिएको छ। 

तर, मुलुकी संहिता बमोजिम बिवाहका लागि वर र बधुको योग्य उमेर २० वर्ष पुरा भएको हुनुपर्नेछ। त्यस्तै, मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २१९ को उपदफा (२) ले करणी सम्बन्धी कसुर सम्बन्धमा 'कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।' भन्ने व्यवस्था गरेको छ।

सोही दफाको उपदफा ३ (घ) ले सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ।

सो, घटनाको विषयमा विद्यालयका प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावक संगठन अनभिज्ञ रहेको छ। अहिले करणी गर्ने शिक्षक मुल्मखुल्ला विद्यालय धाईरहेका छन्।