काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) १ सय ८८ अंकले घटेपछि पुन हारियाली छाएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीकोे सूची सार्वजनिक गरेपछि घट्न थालेको आज पुनः २९०० विन्दु नाघेर बन्द भएको छ । नेप्से करिब ८० अंकले बढेर २ हजार ९ सय १३ दशमलव ८४ विन्दुमा उक्लेको छ ।
कारोबारमा आएको अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा ३३ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । बोर्डले जोखिमयुक्त कम्पनीको सूचीमा समेटेकै १४ वटा कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।
आज २ सय २५ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब २८ लाख बढीको रकमको कारोबार भएको छ । फाइनान्स, डेभलपमेन्ट बैंक र हाइड्रो उपसमूह ५ प्रतिशत बढीले बढ्दा कुनै पनि उपसमूह ऋणात्मक भने भएको छैन ।

