राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ। आविष्कार केन्द्रलाई ग्राडियन हेल्थ सिस्टम यूएसएले दिएको भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सोमबार सरकारलाई हस्तान्तरण गरिएको हो ।
अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ती भेन्टिलेटर हस्तान्तरण गरिएको छ। प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न नौ वटा अस्पतालाई उपलब्ध गराइने बताइएको छ।
भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा बिरामीलाई बेडको अभाव हुन नदिने गरी पूर्वाधार विकास गरिने बताएका छन्। ‘स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टिकर बनाएर कहिल्यै नमेटिने गरी राखिनेछ’ स्वाथ्यमन्त्री तामाङले भने, ‘नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न सबैलाई म अपिल पनि गर्न चाहन्छु।’ स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइएका ५० थान भेन्टिलेटरको मूल्य ६ करोड रुपैयाँ बराबरको छ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुनले भने सामाजिक सञ्जाल फेसबुकमा मन्त्रालयमार्फत ति भेन्टिलेटरहरू बीर हस्पिटललाई १० थान, सिभिल हस्पिटललाई ५ थान, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ वटा, लुम्बिनी प्रादेशिक अस्पताललाई ५ वटा, टिकापुर अस्पताललाई ५ वटा, मेची अस्पताललाई ५ वटा, नारायणी उपक्षेत्रीय अस्पताललाई ५ वटा, पोखरा एकेडेमी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ वटा र त्रिशुली अस्पताल नुवाकोटलाई ५ वटा वितरण हुने जनाएका छन्।

