सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिका -२ मा हावाहुरीले घरमा क्षति पुर्‍याएको छ। आज दिउँसो आएको हावाहुरीले क.न.पा. -२ को छतिवनटारमा चार वटा घरमा क्षति पुर्‍याएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाका अनुसार छतिवनटारका २५ वर्षिय पञ्च बहादुर घलानको ढुङ्गा माटोको २ तले घरको जस्ताको छानो उडाउँदा ६० हजार बराबरको क्षति भएको छ । 

सोही ठाउँका ३२ वर्षिया चक्रमान लामाको माटो, ढुङ्गा र काठले बनाएको २ तले घरको पनि जस्ताको छानो उडाउँदा ६० हजार बराबरको नोक्सान भएको जनाइएको छ। त्यस्तै, सोही स्थानका निश्चल लामाको माटो, ढुङ्गा र काठले बनाएको एक तले घरको जस्ताको छाना उडाएको छ। उक्त छानो उडाँउदा ४५ हजार बराबरको क्षति पुगेको लामाले बताए। सोही स्थानकै ५७ वर्षिया नातिबाबु दमाईको सोहि अनुरुपको २ तले घरको जस्ताको छानो उडाउँदा ८० हजार बराबरको क्षति पुगेको विवरण लामाले दिए। 

घटनाको खबर पाउनका साथ प्रहरी उक्त स्थानमा पुगेको थियो।