रामेछाप। कारोना महामारीले रामेछापमा पारेको प्रभाव र रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासबारे अन्तरक्रियाका कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले रामेछापमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपनि संक्रमण नियन्त्र तथा रोकथामका लागि भएका प्रयासहरु पर्याप्त नभएको औँल्याएका छन्।
सहभागीहरुले जिल्लामा अझै पनि अक्सिजन प्लान्ट निर्माण नहुँदा समस्या पैदा हुनसक्ने भन्दै जतिसक्दो चाँडो निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । साथै ग्रमिण भेगहरुमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै जानु, आम नागरिकले स्वस्थ्यका मापदण्ड पालना नगर्नु जस्ता कारणले निकट भविश्यमा ठूलो समस्या आउन सक्ने भन्दै पूर्व तयारीमा जुट्न सम्बद्ध निकायलाई सहभागीहरुले आग्रह गरेका छन् ।
कार्यक्रमका बक्ता, विघटित प्रतिनिधिसभा सदस्य एवम् पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले जिल्लामा अक्सिजन प्लान्टका लागि पहल भइरहेको र पीसीआर मेसिनका लागि पनि आफूले पहल गरिरहेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको र ‘फास्ट ट्र्याक’ मार्फत पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
निवर्तमान संघीय सांसद कुशलले भन्नुभयो, ‘पोहोर नै बजेट छुट्याउन पाएको भए अहिले मेशिन आईसकेर पनि जिल्लामै सञ्चालन भईसकेको हुन्थ्यो, त्यतिबेला बजेट नछुट्याउनु कमजोरी भयो भन्ने लागेको छ । २÷२ पटक माननीय भएर पनि जिल्लाको लागि आवश्यक हुँदा एउटा पीसीआर मेशिन पनि राख्न नसक्दा दुःखी छु ।’
त्यस्तै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लामा हाल कोरोनाका कारण डरलाग्दो अवस्था नरहेको भन्नुहुँदै हाल जारी निशेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको बताउनु भयो । उहाँले जिल्लामा आवश्यकता अनुसार अक्सिजन र सिलिण्डर ल्याइरहेको जानकारी दिनुहुँदै जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य कार्यालयलगायतसँग समन्वय गरेर कोरोना नियन्त्रणको प्रयास भइरहेको बताउनु भयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नवराज ढुंगानाले जिल्लामा जारी निशेधाज्ञाको पालनामा प्रहरीले निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराउनुहँुदै हाल जिल्लामा अक्सिजन सिलिण्डरको अभाव नरहेको बताउनु भयो । उहाँले जिल्लामा अक्सिजन सिलिन्डर खोजी अभियानमा सबैले सहयोग गरेको बताउनुहुँदै कोरोना नियन्त्रणमा प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका सभापति बद्री नयाँघरेले सदरमुकाममा कारोना महामारीको असर सामान्य भए पनि ग्रामिण भेगमा संक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले आम नागरिकहरुमा अझै पनि कोरोना परीक्षणको पहुँच पुग्न नसकेको भन्नुहुँदै कोरोना संक्रमण भएर पनि नजचाएरै आजसम्म १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
सभापति नयाँघरेले ग्रामिण भेगमा कोरोना नियन्त्रणका लागि स्थानीय तह तथा वडा कार्यालयहरु, स्वास्थ्यसंस्थाहरु र सम्बन्धित निकायहरुबीच समान्वयको अभाव रहेको औँल्याउँनु भयो । नेपाल पत्रकार महासंघका पूर्वसभापति हिमाल ढुंगेलले कोरोना महामारीको दोस्रो लहर आइसक्दा र तेस्रो लहरसमेत आउने जोखिम बढीसकेको अवस्थामा पनि रामेछापमा कोरोना नियन्त्रणका लागि आवश्यक पूर्वाधर निर्माण र तयारी नभएकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
उहाँले जिल्लामा थुप्रै विकास भएको भनी विभिन्न सामाजिक सञ्जालहरुमा फैलाइएको हल्ला जस्तो विकास हुन नसकेको बताउनुहुँदै अझै पनि आम नागरिकको कन्ट्याक्ट ट्रेसिङ्गसमेत हुन नसकेको बताउनु भयो । पूर्वसभापति ढुंगेलले जिल्लामा संकलित केही स्वाव परीक्षणका लागि विभिन्न छिमेकी जिल्ला धाउनु पर्ने र त्यसको रिपोर्टसमेत समयमै नआउनु दुःखद भएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी निरोज थापा, अमृत सुनुवार, हरिहर कार्की, रविन्द्रप्रताप, सन्तोष पौडेललगायतले जिल्लामा जतिसक्दो चाँडो कोरोनाको महामारी नियन्त्रणका लागि पहलकदमी लिन सम्बद्ध पक्षहरुसँग आग्रह गर्नु भएको थियो ।
रामेछाप काठमाडौँ पत्रकार समाजका अध्यक्ष प्रेम गौतमले कारोना महामारीको वर्तमान परिस्थितिमा जिल्लामा भएका प्रयासहरुलाई विभिन्न सञ्चारमाध्यममार्फत उजागर गर्ने र आवश्यकता र्औल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
भर्चुअल रुपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्यहरु माधव पौडेल, ज्ञानप्रसाद पौडले, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीसहित रामेछापबाट पत्रकारीता गरिरहनुभएका र रामेछाप घरभई काठमाडौँ बसेर पत्रकारीता गरिरहनुभएका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।
रामेछाप जिल्ला घर भई काठमाडौँमा बसेर पत्रकारीता गरिरहेका पत्रकारहरुको संस्था रामेछाप काठमाडौँ पत्रकार समाजले जिल्लाका विभिन्न विषयबस्तुहरुमािथ रहेर कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
यही हप्ताभित्र पुनः प्रदेश प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबीच कोरोना महामारी नियन्त्रण र प्रयासका बारेमा पुनः अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको रामेछाप काठमाडौँ पत्रकार समाजले जनाएको छ ।

