काठमाडौं। आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। २०६३ जेठ २१ गते पुनर्गठित संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन शुरु गरिएको हो।
यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजमा समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छन्। उनले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको पनि उल्लेख गरेका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन्। शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन सरकार तल्लीन रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
शुभकामना दिँदै सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछुतप्रति कुनै सहिष्णुता नदर्शाइने उनको भनाइ छ । "समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ", सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले यस दिवसले जातीय विभेद र छुवाछुतको दुव्र्यवहारलाई रत्तिभर नसहन तथा हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।

