काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्षमा पुगेको छ। मङ्गलबार बसेको तीन जिल्लाका प्रजिअहरूको बैठकले त्यस्तो निष्कर्ष निकालेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका हुन्।

जारी निषेधाज्ञा बिहीबार रातिदेखि सकिन लागेको बेला प्रजिअहरुको बैठकले उक्त छलफल गरेको हो। निषेधज्ञा थप्ने विषयमा  निष्कर्षमा पुगे पनि यस बारे आज बुधबार निर्णय सार्वजनिक गर्ने भएका छन् ।

त्यस्तै बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताब पसल बिहान नाै बजेसम्म खोल्न दिने विषयमा छलफल भएको प्रजिअ भट्टराईले बताए। तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान नाै बजेसम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि सञ्चालन गर्न दिने विषयमा पनि छलफल भएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । (गोरखापत्र)