काठमाडौं। स्थानीय तहका जनप्रतिनिधिले तत्काल खोपको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै खोप माग गरिएको हो।
स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले तत्काल खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका हुन्। उनीहरूले आफ्नै स्रोत र प्रयासबाट खोप खरिद गर्न चाहने स्थानीय तहलाई स्वीकृति दिन पनि सङ्घीय सरकारलाई आग्रह गरेका छन्।
नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जू श्रेष्ठले केही स्थानीय तहले आफ्नो स्रोतबाट खोप खरिद गर्न अनुमति माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिएका छन्। महामारी बढेसँगै खोपको माग बढ्न थालेकाले खोप खरिद गर्न चाहने नगरपालिकालाई स्वीकृति दिन सङ्घले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले सहरी क्षेत्रमा फैलिएको कोरोनाको सङ्क्रमण अहिले गाउँगाउँमा फैलिएकाले जति सक्दो छिटो आमनागरिकलाई खोपको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकबाट अनलाइन आवेदन गर्ने व्यवस्था गरिए पनि ग्रामीण क्षेत्रबाट अनलाइन आवेदन गर्न असम्भव हुने भएकाले उपलब्ध खोप समानुपातिक रूपमा गाउँ र सहरमा वितरण गर्ने व्यवस्था गर्न पनि अध्यक्ष श्रेष्ठले सरकारलाई आग्रह गरेका छन्। अध्यक्ष श्रेष्ठले कोरोना रोकथाम नियन्त्रण कार्यमा अहिले स्थानीय तहले गरेका खर्चलाई अनुदानका रूपमा सोधभर्नाका रूपमा उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरेका छन्। (गोरखापत्र)

