काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कुटनीतक पहलमा चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार(आज) नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं आउने भएको छ। आज करिब ८ लाख डोज खोप लिएर नेपाल एरलाइन्सको विमान काठमाडौं आइपुग्ने भएको हो।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार चार्टर विमानले करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए। सोमबार राति नेपाल एअरलाईन्सको विमान त्यस तर्फ गई सकेको र विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीसँग भएको छलफलमा चीनका राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए। 

यस पटक चीनले दिने भेरोसेल नामको खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानाएका छन्। यो उमेर समूहमा मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६४ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गरिने पोखरेलले जानकारी दिए । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उनको भनाइ छ।