सिन्धुली। हिजोसाँझबाट निरन्तर सुनकोसीमा आएको बाढीले  फिक्कल -२ नवलपुर र चम्पादेवी -२ ओखलढुङ्गा जोड्ने पुलको तेस्रो स्ल्याप बगाएको छ। यही असारमा सम्पन्न हुनुपर्ने पुलको तेस्रो स्लाप हिजो बुधबार ३ बजेमात्र ढलान सक्नसाथ हिजो बेलुकाबाट निरन्तर बाढी आएपछि आज दिउँसो बगाएको हो। 

पुलको स्थानीय कन्ट्रयाक्टर मदन माझीका अनुसार जेठ १० देखि तेस्रो स्ल्यापको ढलान थालिएको र बुधबार १२ गते दिउँसो ३ बजेमात्र ४० मिटर लामो तेस्रो स्ल्याप ढलान सकिएको थियो। उनका अनुसार केबल ब्रिजको स्ल्याप सेटिङ् हुन कम्तिमा पनि २४ घण्टा लाग्ने र पूर्ण रुपमा तयार हुन १४ दिन लाग्ने गर्दछ । तर, ढलान सक्नसाथ आएको बाढीले बाँध खोल्दा पुल सेटिङ् हुन नपाएर बाढीले बगाएको हो।

माझीका अनुसार सुनकोसीमा जेठ महिनाको पहिलो/दोस्रो हप्ता नै ठूलो बाढी आउने सम्भावना नरहेको हुँदा बाँध लगाई पुलको तेस्रो स्ल्याप लगाउने काम भएको तर एक्कासी आएको बाढीको बहाबले बाँध खोल्दा पुल बगाएको बताएका छन्।

भौतिक पूर्वाधार मन्त्रालयको ग्रिप सेक्टर परियोजना अन्तरगत करिब २३ करोड लागतमा २०७४ फागुनबाट थालिएको पुलि निर्माण यही असारमा सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो। पुलको करिब ७० प्रतिशत काम सम्पन्न हुन लाग्दा बाढीले पुल बगाएको छ। यस पुलको ठेक्काको जिम्मा तुदी कन्ट्रक्सन सानेपाले जिम्मा लिएको थियो।

स्थानीय कन्ट्रयाक्टर माझीका अनुसार बाढीले पुल बगाउँदा करिब ५ देखि ६ करोडसम्मको नोक्सानी पुर्‍याएको बताएका छन्।