काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको र थप कडा गर्ने निर्णय उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले निर्णय गरेको छ। निषेधाज्ञा एक हप्ताको लागि थप गर्ने निर्णय भएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा थप कडाई हुने बताएका छन् । यस अवधिमा सर्वसाधारणलाई मर्निङ र इभिनिङ वाकका लागि घरबाट निस्कनेलाईसमेत कारबाही गरिने भएको छ। त्यसैगरी खाद्य पसल र डिपार्टमेन्ट स्टोरसमेत बन्द गर्ने निर्णय गरेको छ। यसअघि उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो। 

जेठ १३ गतेदेखि २० गतेसम्म थप भएको निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र तरकारी पसल खोल्न दिइने छ। अब विवाहमा सातजना मात्र सहभागी हुन पाइने छ। यसअघि १० जना सहभागी हुने पाइने निर्देशन जारी भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा कायम छ।