रामेछाप। लिखु खोलामा निर्माणमाधिन ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ बेसिन) भत्किएको छ। डिसेन्डिङ बेसिनको निर्माण अधिकांश पूरा भएपछि परीक्षणको क्रममा भत्किएको हो।

सम्पन्न हुन लागेको आयोजनाको संरचना भत्किएपछि यसको डिजाइन तथा निर्माणको गुणस्तरमा प्रश्न उठेको छ। आयोजनाको प्रवर्द्धक ग्रिन भेन्चर कम्पनीका कम्पनीले बाढीकै कारण संरचना भत्किएको दाबी गरेका छन्।

तर स्थानीयले भने खोलामा बाढी नै नआइ पोखरी भत्किएको बताएका छन्। आयोजनाले अहिले निर्माणको क्रममा भएको कमजोरी स्वीकार गर्ने भन्दा पनि कमिकमजोरी इन्जिनियरिङ र सुपरिवेक्षणमा भएको लापरबाही ढाकछोप गरेको छ।

स्थानीयले भत्किएको स्थलमा सिमेन्टको मात्रा नपाइएको बताएका छन् । अहिले पानी भरेर आयोजनाको परीक्षण गर्ने क्रममा सानो डिसेन्डिङ बेसिनको एउटा पर्खाल भत्किएको छ । सिभिल निर्माणको ठेक्का पाएको भारतको एसएसएनआर कम्पनीले संरचना निर्माण गर्दा गुणस्तरीयतामा ध्यान नपुर्याएकै कारण यो दुर्घटना भएको कुरालाई नकार्न सकिँदैन । एक साताभित्र विद्युत् उत्पादनमा जान लागेको आयोजनाले थप दुर्घटना निम्त्याउने त्रासमा स्थानीय बसेका छन् । यो आयोजनालाई निर्माण तथा सञ्चालन गरेको ३० वर्षपछि राज्यलाई बुझाउने सम्झौता भएको छ ।

सरकारले २०६५ सालतिरै यो आयोजनाको अनुमतिपत्र भारतको ग्रिन भेन्चर प्रालिलाई दिएको थियो । कम्पनीले १२० मेगावाटमा आयोजना निर्माण गर्ने र उत्पादित विद्युत् भारत निर्यात गर्ने गरी २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग ‘फल ब्याक पिपिए’ गरेको थियो । ‘फल ब्याक’ पिपिए (विद्युत् खरिद सम्झौता) अनुसार प्राधिकरणले निश्चित समयका लागि मात्र लिखुको बिजुली किनिदिने सर्त थियो । उक्त आयोजनाबाट २०७२ सालभित्रै बिजुली उत्पादन गरिसक्नुपर्ने थियो । तर, परिणाम नदेखिएपछि त्यतिबेलै प्राधिकरणले लिखुको बैंक धरौटी समेत जफत गरेको थियो । पछि, सांघाईले किने पछि पुनः क्षमता ५२.४ मेगावाटमा झारिएको थियो ।