काठमाडौं। नेपाल आदिवासी  जनजाति महासंघको जेठ १९ र २० गतेका लागि तोकिएको १० औँ महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। महासंघको शुक्रबार बसेको बैठकले कोरोना महामारी बढीरहेको बेला अधिवेशन स्थगित गर्ने निर्णय  गरेको हो।

नेपालमा नयाँ भेरिएन्ट  सहितको कोरोनाको दोस्रो लहर चलिरहेको विषम परिस्थितिमा  महाधिवेशन गर्न नसक्ने भन्दै महासंघले पूर्व निर्धारित सबै कार्यक्रम  स्थगित गरिएको जनाएको छ। त्यस्तै नेपालमा भईरहेको राजनीतिक सर्मागर्मीलाई  लक्षित गर्दै महासंघका अध्यक्ष जगत  बरामद्वार हस्ताक्षरित विज्ञप्तिमा सत्ता लिप्तताका कारण उत्कर्ष राजनीतिक विवाद प्रति खेद प्रकट गर्दै भनेका छन् 'राज्य, सरकार, राजनैतिक दलहरु, सम्बन्धित राज्य सरकारको संयन्त्रहरुले जनता महामारीमा तड्पिरहँदा गैरजिम्मेवार र असंवेदनशील भइराखेका छन् र जनताको जिउज्यानको सुरक्षा गर्नुपर्ने बेला घिनलाग्दो सत्तास्वार्थको खेलमा लिप्त छन् । महासंघ यस्ताखाले अराजनैतिक र अलोकतान्त्रिक क्रियाकलापको खेद प्रकट गर्दछ।'

त्यस्तै महासंघले कोभिड महाभारीको विषम् परिस्थितलाई मध्यनजर गर्दै कोभिड–१९ विरुद्ध लड्नका हाम्रो सामथ्र्यले भ्याएसम्म थोरै भए पनि केही योगदान गर्ने ध्येयले महासंघले “नेपाल आदिवासी जनजाति महासंघ कोभिड–१९ राहत कोष २०७८” खडा गरेको र उक्त कोषको उद्देश्य आदिवासी जनजाति र बहिष्कृत वर्ग समुदायलाई अत्यावश्यक राहत वितरण गर्ने, उपचार र संक्रमितहरुका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने, लगायत रहेको विज्ञप्ति मार्फत जनाएका छन्।

महासंघद्वा जारी विज्ञप्तिको पूर्णपाठ:

नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन र कोभिड–१९ सन्दर्भमा जारी विज्ञप्ति:

नेपालका सम्पूर्ण आदिवासीहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघकोे दशौं राष्ट्रिय महाधिवेशन मिति २०७८ जेठ १९ र २० गतेका लागि तोकिएको अवगत नै छ । तर अहिले विश्वलाई नै कोभिड–१९ले आक्रान्त पारिरहेको सिलसिलामा नेपालमा झन् तीव्र रुपमा फैलिइरहेको छ । यस्तो विषम परिस्थितिमा चाहेर पनि हामीले महाधिवेशन जस्तो संवेदनशिल कार्यक्रमलाई सञ्चालन गर्ने परिस्थिति नभएको स्पष्ट छ । तसर्थ नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद सचिवालयको २०७८ जेठ ७ गतेको बैठकको निर्णय अनुसार दशौं महाधिवेशनको पूर्व घोषित सबै कार्यक्रमहरु अर्को निर्णय नहुँदासम्मको लागि स्थगित गरिएको यस महासंघका आदिवासी जनजातीय सदस्य संगठनहरु, सम्बन्धन संगठन, विदेशस्थित शाखा संगठनहरु, प्रदेश, जिल्ला र स्थानीय तह समन्वय परिषद तथा सम्बन्धित सम्पूर्णमा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।

सन् २०१९ देखि विश्वभर कोभिड–१९ को महामारीले आक्रान्त बनाई रहेको छ । त्यतिमात्र नभएर अहिलेको परिस्थितिमा नेपालमा झन् कोभिड–१९ को नयाँनयाँ भेरियन्टको रुपमा देखा परी नेपालमा ठूलो महामारी र संकटको रुप लिइरहेको छ । नेपाली जनता दिनानुदिन यसबाट संक्रमित भई आधारभूत स्वास्थ्य सेवा र सुविधा समेत नपाएर अनाहकमा ज्यान गुमाइरहेका छन् । राज्य, सरकार, राजनैतिक दलहरु, सम्बन्धित राज्य सरकारको संयन्त्रहरुले जनता महामारीमा तड्पिरहँदा गैरजिम्मेवार र असंवेदनशील भइराखेका छन् र जनताको जिउज्यानको सुरक्षा गर्नुपर्ने बेला घिनलाग्दो सत्तास्वार्थको खेलमा लिप्त छन् । महासंघ यस्ताखाले अराजनैतिक र अलोकतान्त्रिक क्रियाकलापको खेद प्रकट गर्दछ ।

यस विषम परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्नका हाम्रो सामथ्र्यले भ्याएसम्म थोरै भए पनि केही योगदान गर्ने ध्येयले महासंघले “नेपाल आदिवासी जनजाति महासंघ कोभिड–१९ राहत कोष २०७८” खडा गरेका छौं । आदिवासी जनजाति र बहिष्कृत वर्ग समुदायलाई अत्यावश्यक राहत वितरण गर्ने, उपचार र संक्रमितहरुका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने, लगायत आदि उद्देश्यले यो कोष खडा गरिएको अबगत गराउँदछौं । महामारीको संकटको बेला जे जति जसरी सकिन्छ आआफ्नो तवरले कोषमा सहयोग पुर्याएर लोककल्याकारी हितको लागि विभिन्न संघ संगठनहरु, पेशा व्यवसायीहरु र आम नागरिकमा हार्दिक अनुरोध सहित अपिल गर्दछौं ।

साथै कोभिड–१९बाट संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित शोकमग्न परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

कोभिड–१९को विरुद्ध सबै एकजुट हुन र स्वास्थ्य प्रोटोकलको पालना गर्नु गराउनुहुन सबैमा हार्दिक अपीलसहित ।

जगतबहादुर बराम

(अध्यक्ष)