काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान करिब ६ बजे बस दुर्घटनामा परेको हो।

काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना. ५ ख. २७१३ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ। बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । बसमा सवार पाँच जना सकुशल रहेका छन् ।  (गोरखापत्र)