झापाको कचनकवल गाउँपालिकाको मुटु मानिने प्रशासनिक केन्द्र बनियानी अहिले विकासको नाममा विनासको चपेटामा परेको छ । बनियानीको करिब १.५ किलोमिटरको साँघुरो घेराभित्र सञ्चालित एस बि आई, स्टार, प्रेम, ज्योति र चण्डी गरी पाँच वटा इँटा भट्टाहरूले यहाँको वातावरण र जनस्वास्थ्यमा गम्भीर प्रश्न खडा गरेका छन् ।
यी उद्योगहरूबाट निस्कने घातक धुवाँ र ग्यासको प्रत्यक्ष असर ५०० मिटरदेखि १ किलोमिटरको दुरीमा रहेका शैक्षिक संस्थाहरूमा परिरहेको छ । दारुल आ.वि., पशुपति आ.वि., गगन आ.वि., लक्ष्मी मा.वि., लक्ष्मी क्याम्पस र अन्य ४ वटा निजी विद्यालयका हजारौँ विद्यार्थीहरू दैनिक रूपमा विषालु हावा श्वासप्रश्वास प्रक्रियामा लिन बाध्य छन। बाक्लो मानव बस्तीको बिचमा सञ्चालित यी भट्टाहरूले स्थानीयलाई श्वासप्रश्वास, मुटु रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगको जोखिममा धकेलेका छन ।
के भन्छ नेपालको कानुन ? नेपालको ‘इँटा उद्योग मापदण्ड तथा सञ्चालन निर्देशिका’ ले स्पष्ट रूपमा उद्योगहरू मानव बस्ती, विद्यालय अस्पताल र मुख्य सडकबाट कम्तीमा १ किलोमिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । बनियानी नजिकैका यी भट्टाहरूले यो न्यूनतम मापदण्ड समेत पालना नगरेको देखिन्छ । यस्तै, वातावरण संरक्षण ऐन २०७६ ले प्रदूषण फैलाउने उद्योगलाई कारबाही गर्ने अधिकार स्थानीय र प्रदेश सरकारलाई दिए पनि कचनकवलमा यसको कार्यान्वयन फितलो देखिएको छ ।
नेपालले जलवायु परिवर्तन सम्बन्धी क्योटो प्रोटोकल (Kyoto Protocol) मा हस्ताक्षर गरी कार्बन उत्सर्जन घटाउने र स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन (Net Zero) को लक्ष्य राखेको भए पनि पालिका को केन्द्र, बनियानी जस्ता क्षेत्रमा सञ्चालित अनियन्त्रित इँटा भट्टाहरूले यो प्रतिबद्धतालाई गिज्याइरहेका छन ।
भट्टाबाट निस्कने कार्बन डाइअक्साइड (CO_2) र सल्फर डाइअक्साइड (SO_2) ले हरितगृह प्रभाव बढाउनुका साथै स्थानीय तापक्रम वृद्धिमा समेत भूमिका खेलिरहेका छन् ।
प्रशासनिक केन्द्र वरपर नै यति ठुलो लापरवाही हुँदा पनि सम्बन्धित निकाय मौन रहनुले मिलेमतोको आशङ्का उब्जाएको स्थानीयको भनाइ छ । “हामीले विकास चाहेका हौँ, तर हाम्रा बालबालिकाको फोक्सो नै कालो हुने गरी होइन,“ एक स्थानीय अभिभावकले भन्नुभायो ।
यस विषयमा गाउँपालिका र स्थानीय प्रशासनले तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन (EIA/IEE) गरी मापदण्ड विपरीतका भट्टाहरूलाई कारबाही वा स्थानान्तरण गर्न आवश्यक देखिएको छ ।
