सिन्धुली। सिन्धुली जिल्लास्थित गोलोन्जोर गाउँपालिकाको विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन समितिको बैठक बसेको छ। आज बसको बैठकले बिभिन्न निर्णयहरु गरेको गाउँपालिकाले जनाएको छ।
बैठकमा यसअघि गाउँपालिकामा सञ्चालनमा रहेका होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन वेड सञ्चालनका लागि तयारी अवस्था राखिने निर्णय भएको छ। साथै सो को सञ्चालनका लागि प्रयोग भएका स्थास्थ्य सामाग्री, जनशक्ति, उपकरणहरु यथासिघ्र ब्यवस्थापन तथा सञ्चालन गरिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै विश्वभर माहामारिको रुपमा फैलिएको युके भेरियन्ट कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु नेपाल सरकारको निर्देशन स्वरुप बन्द गरिने तथा विद्यालयले छनोट गरेको उपयुक्त सिकाई प्रक्रियालाई सहजिकरण गरी कार्यान्वयन गरिने आजको बैठकले निर्णय गरेको छ।
साथै जिल्ला प्रशासनले निर्देशन गरेको शव ब्यवस्थापनको विषयमा पनि निर्णय भएको छ। गोलन्जोर गाउँपालिकामा कोभिड १९ का मृत्यु भएका ब्यक्तिहरुको लासको ब्यवस्थापनको लागि साबिक धार्मिक तथा सांस्कृतिक रुपमा मान्यता अनुरुप तत् स्थानमा शवको ब्यवस्थापन गर्ने र सम्बन्धित वडाहरुले सहजिकरणको भुमिका खेल्ने निर्णय भएको जनाइएको छ।
संक्रमणलाई न्यूनीकरणका लागि राजनैतिकदल, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर आफ्नो आफ्नो स्थानबाट पूर्व निरोधात्मक सूचनाहरु सरकारी र गैरसरकारी संस्थाहरुद्धारा प्रचार प्रसार गरिने निर्णय भएको छ।
त्यस्तै बिगतमा विपद् ब्यवस्थापन कोष मार्फत समयसमयमा भएका सम्पूर्ण खर्चहरु आज बसको बैठकबाट अनुमोदन गर्ने पनि निर्णय भएको छ। आज बसेको विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन समितिको बैठकमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्की, गाउँपालिकाका प्रवक्ता दौलत कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहाल, नेपालीका काङ्ग्रेस गोलोन्जोर गाउँपालिकाका अध्यक्ष मोतिराज सापकोटा लगाायतको उपस्थिती रहेको थियो ।
