सिन्धुलीमाढी। सिन्धुलीमाढीमा अटो चालकहरुले मनपरी भाडा असुल गर्ने गरेका छन्। पछिल्लो समय सम्बन्धित निकायले बेवास्ता गर्दा अटो चालकहरुले मनपरी भाडा असुल गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन्।
कमलामाई नगरपालिकाभित्र नगरपालिकाले २ वर्षअघि अटोको न्यूनतम भाडादर तोके पनि अटो चालकहले मनपरी भाडा असुल्ने गरेको कमलामाई नगरपालिका ४ का बिमला बिशंखेले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो बसपार्कबाट मल्लगाउँको भाडा ३० रुपैयाँ तोकिएको भएपनि ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिने गरेको बताउनु भयो। नगरपालिकाले प्रतिकिलोमिटरको हिसाबले भाडा नतोकिदिँदा चर्को भाडा तिर्नुपरेको उहाँले बताउनु भयो।
साथै, अटो चालकलाई यहाँसम्मको यति हो भन्दा उल्टै गालिगलौज गर्ने गरेको पानिट्याङ्किकी अस्मिता थापा मगरले बताउनु भयो। अटो चालकले भाडा जति माग्यो तेति तिर्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनु भयो। नगरपालिकाले २ वर्ष अघि अटोमा भाडादर राख्न निर्देशन दिएपनि अटो चालकहरुले अहिलेसम्म अटोमा भाडादर सार्वजनिक रुपमा राखेका छैनन् ।
