सिन्धुली। कमलामाई नगरपालिका -१४, चन्दनपुरमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भिमानबाट दुधौली तर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटर साइकलमा सवार तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुधौली नगरपालिका ४ का २६ वर्षीय यमकुमर दनुवार र उहाँको भतिज १३ वर्षीय आषिस कुमार दनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवानमा कार्यरत रहनु भएको थियो।

यस्तै, दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिदकुमर दनुवारको उपचाका लागि सिन्धुली अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भएको घोषणा गरेको प्रहरी प्रवक्ता समेत रहनु भएका लामाले जानकारी दिनुभयो। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।