संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ ।

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “डोरी टाङ्नेदेखि आरोहीलाई शिखरमा पु¥याउने काममा शेर्पाहरूले योदान गरेकै कारण पर्वतारोहण सहज तथा सफल भएको छ । यसैले शेर्पाका कारण सगरमाथा विश्वमा चिनिन थप मद्दत पुगेको मेरो बुझाइ छ”, मन्त्री पाण्डेले भन्नुभयो । 

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म रहेका छन् । कार्यक्रममा पालिकाको सद्भावनादूतमा कुङ्गा शेर्पालार्ई घोषणा गरिएको थियो ।

स्वाभलम्बी कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथ सहासिक पदयात्रामार्फत पर्यटन प्रबद्र्धनमा मिलाऔँ हातमा हात’ नाराको साथ खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षतामा काठमाडौंको ज्योति पाटी प्यालेस कुमारीगाल स्थित सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्नुहुने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्नु हुने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्नुहुने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्वय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीरखर्कका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

साथै आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने पनि अध्यक्ष शेर्पाले बताउनुभयो । 

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद् रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीपकुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का लगायत बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।