सिन्धुली। सिन्धुलीको सुनकोसी नदीमा कानुन बिपरित सञ्चालनमा रहेका क्रसर बन्द गर्ने जिल्लाका प्रहरी प्रमुख गोबिन्द थपलियाले दाबी गर्नुभएको छ। उहाँले कानुन बिपरित सञ्चालन भएका क्रसरका कारण सुनकोसी नदीको दोहोन भएको स्थानीयको गुनासो रहेको भन्दै कानुन बिपरित सञ्चालन भएका सम्पूर्ण क्रसर बन्द गर्ने बताउनु भएको हो।

मंगलबार जिल्ला प्रहरी कार्यलय सिन्धुलीले आयोजना गरेको पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख थपलियाले यस्तो बताउनु भएको हो। सिन्धुलीको सुनकोसीमा क्रसर सञ्चालनका लागि कानूनी मान्यता प्राप्त तीन वटा मात्रै क्रसर रहेको छन् तर सुनकोसीमा हाल २७ वटा क्रसर सञ्चालन भइरहेको गुनासो आएको भन्दै बन्द गर्ने बताउनु भयो।

उहाँले आफ्नो सरुवा हुन्छ भनेर नडराने पनि चेतावनी दिनुभएको छ। साथै उहाँले जिल्लामा भएका अपराध, लागूऔषध दुर्व्यसनी, गाँजा खेती बलात्कार जस्ता जघन्य अपराधको न्यूनीकरण गर्ने बताउनु भएको छ। उहाँले जिल्लामा उक्त अपराधहरू न्यूनीकरण लागि जिल्लाबासी र पत्रकारहरु लाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। थपलिया भर्खरै सरुवा भएर सिन्धुली आउनु भएको हो।