सिन्धुली। सिन्धुलीमाढीस्थित कमलामाई नगरपालिकाको कार्यालय नजिकै नगरपालिकाले बनाएको स्टल बजार छ। स्टल बजारको पूर्वी कोणबाट नापी कार्यलय जाने उकालो बाटोको छेउमा चाउरी परेको गाला, चरचर फुटेका हातले एकजना बृद्ध महिलाले हरियो मकै पोल्दै बेच्दै गरेको देखिन्छ।

उनी हुन् ७७ वर्षिया देव कुमारी भुजेल । गुजारा चलाउनकै लागि उहाँले बजारबाट १५ रुपैयाँको गोटाको हरियो मकै किनेर पोलेपछि २५ रुपैयाँमा बेच्नुहुन्छ। भारी बोकेर आफ्नो गुजारा चलाउने भुजेल उमेरले डाँडो काटेसँगै उच्चरक्तचापले भारी बोक्न नसक्ने भएपछि मकै पोलेर गुजारा चलाउँदै आएको बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ "बिहान बेलुका छाक टार्नकै लागि दिनभरी मकै पोलेर बेच्छु।"

मकै पौल्दा लागेको कालो, दुब्लो शरीर उच्च रक्तचापले गडेका आँखा अनि फुलेका केस मिलाउँदै भुजेलले भन्नुभयो "जीवन रहुन्जेल खानै पर्दो रहेछ, काल पर्खिरहेकी छु"।यत्तिकैमा उहाँ फेरी थप्नुहुन्छ "यतिकै बसेर खानदिने कोहि छैन गुजरा चलाउन यहि हरियो मकै पोलेर बेच्छु।"

धुलिखेलबाट ३५ वर्ष अगाडी सिन्धुलीको मधुटार आएर बस्दै आउनु भएको भुजेल पहिले बिहे गरेको श्रीमान्को मृत्यु भएपछि उहाँले दोस्रो बिबाह गर्नु भयो। दुई छोरा भएपछि श्रीमानले अर्की बिबाह गरे, त्यसयता श्रीमान् सँग छुट्टिएर बसेको सुनाउनु भयो।

उहाँ भन्नुहुन्छ “जेठो छोराको मृत्यु भएपछि कान्छो छोरासँगै बस्दै आएको थिए, उसको पनि श्रीमति छोराछोरी भएपछि एउटै कोठामा ठाउँ पुगेन भनेर अर्काे कोठा खोजेर राखिदिए” कोठा भाडा त छोराले तिर्दिन्छ खाना बस्नका लागि आफैँले ब्यवस्था गर्नुपर्छ उहाँले थप्नुभयो।

बिबाह दर्ता नगराएका कारण उहाँले सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको छैन। दिनभरी मकै पोलेर बेचेको पैसाले खानाको लागि पुग्छ तर अब वर्षायाम लाग्यो पानी पर्न लागेपछि मकै पोल्न पाइँदैन कसरी बाँच्ने होला ? चिन्तित हुनुहुन्छ देवकुमारी भुजेल।

-संगिता डिम्दोङ्ले प्रत्यक्ष कुराकानीमार्फत तयार पार्नु भएको हो ।