सिन्धुली। नेपाली कांग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले प्रधानमन्त्री अनुशासनहीन भएर अनुशासनको पाठ पठाउँदै हिंडेको आरोप लगाएका छन्। नेपाली कांग्रेस दुधौली वडा नं. ५ ले आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान तथा वडा तरुणदल गठन कार्यक्रममा जिल्ला सभापति बरालले ’प्रधानमन्त्री केपी ओली आफू घोडेजात्रा लगायत सार्वजनिक सभा गर्दै हिंडेको र अरुलाई कोरोनाको मापदण्डको पालना गर्न फर्मान जारी गरेर स्वंय अनुशासनहीन भएको’ बताएका हुन्।

निर्वाचित तरुणदलका कार्यकर्तालाई हौसल्ला दिँदै सभापति बरालले युवालाई परिवर्तनको बाहक रहेको बताएका छन्। वि.पि.लाई सम्झिँदै बरालले भने, ’वीपीले युवालाई विचार भरिएका आगोका ज्वाला हुन् भन्नु भएको थियो त्यसैले सामाजिक परिवर्तन र रुपान्तरणको लागि युवाहरुले उत्पीडितको आवाजलाई हावाको गतिमा न्यायको पक्षमा अगाडी ल्याउन सक्नुपर्छ।’

त्यसैगरी संविधानसभा सदस्य तथा पुर्व जिल्ला सभापति मोहन बरालले “गणेशमान सिंहले भनेको जस्तो युवाहरु अर्को चुनावको लागि होइन अर्को पुस्ताको भविष्य सुरक्षित बनाउन लड्नुपर्ने आजको आवश्यकता हो’ भनेका छन्। 

तरुणदलका क्षत्रीय सभापति सुजन थापामगर र नगर सभापति विश्वास शाही ठकुरीको उपस्थितिमा विष्णु बहादुर बुढाथोकीको सभापतित्वमा दुधौली नगरपालिका वडा नं. ५ तरुणदलको १३ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको थियो। तरुणदलका नगर सचिव सुरेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरु प्रेमचन्द्र दाहाल, विनोद गुरुङ, गंगा दाहाल र कर्ण थापाले नयाँ वर्षले पार्टीको आन्तरिक जीवनमा गतिशीलता, भातृत्व, एकता र सहकार्यताको भावना विकास गराउने अपेक्षा सहित शुभकामना व्यक्त गरेका थिए ।