सिन्धुली। किशोरी परियोजना अन्तर्गत सिन्धुली जिल्लाका विभिन्न विद्यालयका किशोरीहरूलाई विभिन्न किसिमका सामाग्री वितरण गरिएको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा रिलिफ नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले किशोरीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रम अन्तर्गत तीनपाटन गाउँपालिकाको बेन्कटेश्वर माध्यमिक विद्यालय बाहुनतिल्पुङ, श्री माध्यमिक विद्यालय हलिडाँडा र फिक्कल गाउँपालिकाको कालिका देवी निम्न माध्यमिक विद्यालय जाङजाङमा महिनावारिको समयमा आराम कक्ष व्यवस्थापनका लागि सहयोग गरिएको परियोजनाका कार्यक्रम सम्योजक पन्कराज पाण्डेले जानकारी दिनुभयो। आराम कक्ष व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरु कार्पेट, कुर्सि, पानी उमाल्ने किट्ली, सिरानी र खोल, सिरक, बोतल गिलास, जग चम्चा, पलङ जस्ता सामाग्रीहरूको वितरण गरिएको जनाइएको छ।
साथै उहाँले परियोजनाले १० देखि १९ वर्ष उमेर समुहका किशोरीहरूलाई स्कुल र अभिभावकको संलग्नतामा स्वस्च्छ पानी, सरसफाई र स्वच्छता सम्बन्धी सुविधाहरूमार्फत महिनावारी स्वच्छता प्रवर्द्धनको वातावरण निर्माणमा सहयोग पुर्याउँदै आएको पनि बताउनु भयो।
सिन्धुलीको फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकामा सञ्चालित उक्त परियोजनाले अधिकतम प्रतिफल प्राप्त गर्न शौचालय निर्माण तथा मर्मतका लागि विद्यालयहरूमा महिनावारी स्वच्छता पवर्द्धन र बृहत यौनिकता शिक्षा सम्बन्धी बिस्तृत दृटिकोण प्रस्तुत हुँदै आएको छ। उक्त कार्यमा शिक्षक,अभिभावक र किशोरकिशोरीको संलग्नता रहेको जनाइएको छ।
