सिन्धुली। लागू औषधविरुद्धको सचेतना मुलक सडक नाटक तथा साङ्गितिक धुन कार्यक्रम आज सिन्धुलीमाडीमा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाद्धारा सडक नाटक प्रस्तुत गरीएको हो।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री, उपप्रमुख मन्जु देवकोटा, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेकोे थियो। समाजमा कुलत, दुर्व्यसनमा युवाहरू कसरी फस्दै छन्, आफ्ना आफन्तहरू दुर्व्यसनिको बाटोमा कसरी लाग्छन्, सवारी साधनमा महिलाहरू कतिको असुरक्षित छन्, मानिस जानीनजानी दुर्व्यसनमा कसरी फसेका छन्? भन्ने विषयमा नाटकद्धारा प्रष्ट पारिएको थियो।
त्यस्तै नाटकमा यी यस्ता घटना घट्यो भने प्रहरीलाई कसरी सम्पर्क गर्ने भन्ने विषय पनि समेटिएको थियो। बागमती प्रदेसका प्रहरी कलाकारका टिमले उक्त नाटकको प्रदर्शन गरेका थिए लोकतान्त्रिक चौरमा प्रदर्शन गरिएको उक्त नाटक पश्चात सम्बोधन गर्नुहँदै कमलमाई नगरपालिकाका नगर प्रमुख खत्रीले प्रहरीले प्रदर्शन गरेको नाटक सराहनिय र अहिले परिस्थतीमा जायज र सही विषयवस्तु उठान गर्न सकेको भन्दै नाटकको प्रसंशा गर्नु भएको छ। उहाँले नाटकबाट दुर्व्यसनिको विषयमा छर्लङ्ग पारिएको बताउनु भयो। यस्ता सडक नाटकले युवापुस्ता बालबालिकालाई सचेत गराउन टेवा मिलेको पनि उहाँले बताउनु भयो।
त्यस्तै नगर उपप्रमुख मन्जु देबकोटाले सन्देश मुलक नाटक प्रदर्शन गरेको भन्दै प्रहरीलाई आभार व्यक्त गर्नु भएको छ। उहाँले यस्ता सडक नाटकले दुर्व्यसनिको बाटोमा लागेका युवालाई सचेत गराएको भन्दै सडक नाटकले लागूपदार्थ दुर्व्यसनीलाई न्यूनिकरण गर्न मद्दत मिल्ने बताउनु भयो।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लागू औषध न्यूनिकरणका लागि प्रदर्शन गरिएको सडक नाटक उपयुक्त रहेको बताउनु भयो। बागमती प्रदेशको उक्त अभियानप्रति सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो। त्यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरीको गुल्म टिमले साङ्गितिक धुन प्रस्तुत गरेका थिए।
