सिन्धुली। आज सिन्धुलीको शिद्धबाबा मन्दिर, कुशेश्वर महादेव मन्दिर तथा शिव मन्दिरहरुमा पूजाआरधाना गरी शिवरात्री मनाइएको छ। सिन्धुलीको शिद्धबाबा मन्दिर च्याउकोटमा आज विशेष पूजाआज गरी शिवरात्री मनाइएको छ।
शिवरात्रीको अवसरमा शिद्धबाबा मन्दिरमा विशेष पूजाआज गरिने भएकाले जिल्ला भन्दा बाहिर अर्घाखाँची, दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गाबाट समेत भत्तजनहरूको घुइँचो लागेकोे शिद्धबाबा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार थापाले बताउनु भयो। आज शिद्धबाबा मन्दिरमा दुई हजार भत्तजनहरूले दर्शन गरेको अध्यक्ष थापाले बताउनु भयो। कोरोना माहामारीको कारण यस वर्ष अघिल्लो वर्षहरूको तुलनामा भत्तजनहरूको कम उपस्थिती रहेको उहाँले बताउनु भयो। अघिल्ला वर्षहरुमा भारतबाट पनि भत्तजनहरू आउने गरेका थिए।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको अर्घाखाँचीबाट दर्शन गर्न आउनु भएका भक्तजनले बताउनु भयो। सुख शान्ति पाउने विश्वासका साथ वैदिक सनातन हिन्दु धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी महाशिवरात्री मनाएकाछन्।
कमलामाई नगरपालिकाको वडा नं ५ मा अबस्थित शिवालय थानमा पनि आज पूजापाठ गरिएको छ। व्रतहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाआरधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको शिवालय मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष जनक ढकालले बताउनु भयो। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकिर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । शिद्धबाबा मन्दिर र शिवालय मन्दिरबाट रेडियो बिजयकिल्ला ९३ मेगााहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो।
