प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापका सह–इन्चार्ज एवम् प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुको विकल्प नभएको बताउनु भएको छ । ‘संवैधानिक निकायमा, असंवैधानिक नियुक्ति’ का विरुद्धमा बन्द हड्ताललाई सफल पार्नका लागि आयोजित कार्यक्रमको समापन सत्रमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री ओली सच्चिनुको विकल्प नभएको भन्दै नसच्चिए जनताले सदनबाटै तानेर सडकमा ल्याउने बताउनुभयो । अहिले ओलीको साथमा भ्रष्टाचारी र अराजकतावादीहरु मात्रै रहेको सांसद श्रेष्ठले बताउनु भएको छ । प्रधानमन्त्री ओली विदेशी दलाल र भ्रष्टाचारीहरुको नाइके भएको सांसद श्रेष्ठले जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीका कारण नेपाली जनताले दुःख पाउनु परेको उहाँको भनाई छ । यसैबीच, नेकपा रामेछापका इन्चार्ज देवशंकर पौडेलले प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गर्नु भएको आरोप लगाउनु भएको छ ।

संविधानले दिएको बाटो विपरित हिड्नुका साथै समाजवादको समेत बर्खिलाप गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गर्नुभएको पूर्व सांसद पौडेलले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमकाविरुद्धमा सबै दलहरु एक भएर लाग्नु पर्नेमा उहाँको जोड थियो ।