देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।
महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ । यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्युदण्ड दिएको थियो । वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
यसैबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले शहीदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । त्यसैगरी उपराष्ट्रपतिबाट नन्दबहादुर पुनले पनि शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्न एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनुभयो । त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
देउवाले राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीदको सम्झना गर्नुभएको छ । त्यस्तै, राजनीतिक दलका दलका नेताहरुले समेत शहीदहरुको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

