काठमाण्डौं– राष्ट्रिय जनजाति महिला महासंघले आदिवासी अधिकार प्रतिरक्षक अभियान्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।


कोभिड–१९को महामारीमा विश्व स्वास्थ्य संघठनको प्रोटोकलअनुरुप यूरोपियन कमिशन(इयू)को सहयोगमा देशका विभिन्न क्षेत्रका आदिवासी जनजातिका वासस्थान , भेषभूषा, भाषा र संस्कृति तथा प्राकृतिक स्रोत र साधनका रक्षा गर्न आधारभूत मानव र भूमि अधिकारका साथै राष्ट्रिय–अन्र्तराष्ट्रिय कानुनका बारेमा जनचेतना दिन ठमेलमा महासंघले तीन दिने आदिवासी मानव अधिकार प्रतिरक्षक अभियान्ता तालिम कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको हो ।  


उक्त तीन दिने कार्यक्रम २०७७ पौष ६ गतेदेखि ७ गतेसम्म ठमेलको होटेल मर्स्याङदीमा सञ्चालन गरेको महासंघले जनाएको छ ।

मानव अधिकार सम्बन्धी प्रष्ट जानकरी गराई आदिवासीहरुलाई प्रतिरक्षक अभियानकर्ता बनाउने तालिमको उद्देश्य रहेको महासंघका महासचिव जुनिता राईले बताएकी छन् । महासंघका महासचिव राईका अनुसार मानव अधिकार ,भूमि अधिकार, श्वेतता, स्वराज्य अधिकार, प्रचलित सरकारी व्यवस्था, भाषा, साँस्कृतिक परम्परा तथा यूएन र आइयलओ कनभेनसन नं. १६९का  विषयमा तालिममा छलफल गरिएको छ ।

पहिलो दिनको तालिम कार्यक्रममा डा. कृष्ण भट्टचन प्रशिक्षकका रुपमा रहे भने दोस्रो दिनमा प्रशिक्षकका रुपमा भीम राई रहेको आयोजक महासंघले जनाएको छ  । कार्यक्रमको अनुसार तेस्रो दिनमा भने सामूहिक अभ्यास र सहभागीहरुको प्रस्तुतिकरण रहेको थियो ।

उक्त तालिममा महासंघले उपत्यका बाहिरबाट राष्ट्रिय निकुञ्ज, सिमेन्ट कारखाना, अरुण–३को आयोजना, तमोर नदी, सप्तकोशीको उच्च बाँध, मेलम्चीको परियोजनाले प्रभावित ७ जिल्लाबाट गरेर जम्मा ३८ जना उपस्थित रहेको आयोजकले जनाएको छ । सहभागी आदिवासीहरु चितवन र नवलपुरमा राष्ट्रिय निकुञ्जले, उदयपुरमा सिमेन्ट कारखानाले, संखुवासभामा अरुण–३ ले, धनकुटामा तमोर नदीले, सुनसरीमा सप्तकोशीको उच्च बाँध र सिन्धुपाल्चोकमा मेलम्ची परियोजनाले समस्या पारेको हुँदा त्यस जिल्लाहरुबाट माझी,दनुवार,मगर,तामाङ, थारु, बोटे, हेल्मो, राईहरुको उपस्थिति रहेको महासंघका महासचिव राईले बताएकी छन् ।  

कार्यक्रमलाई महासंघका अध्यक्ष चिनी माया माझीले आदिवासी जनजाति मानव अधिकार पाउन उजरी गरी लड्न सहासी र नितीनियमहरुको अनुसरण गर्न सुझाब दिँदै कार्यक्रमलाई समापन गरेको आयोजकले जनाएको छ ।