सिन्धुलीमाढी। कमलामाई नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताबापतको रु १ करोड ४२ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ। आर्थिक वर्ष २०७७/०७८ सालमा निकाशा भएको सामाजिक सुरक्षा भत्ता मध्ये १ करोड ४२ लाख ३५ हजार १ सय ३९ रुपैयाँ त्रिचालिस पैसा सामाजिक सुरक्षा बापतको भत्ता रकम बेरुजु खातामा फिर्ता भएको हो।
कमलामाई नगरपालिका, सेवा इकाईका एम.आई.एस. अपरेटर भानुभक्त श्रेष्ठका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्तामा अनियमितता नियन्त्रण गर्न र लाभग्राहीको तथ्याङ्कमा सुद्धिकरण गर्न ७ सय ५३ वटै स्थानीय तहमा सेवा इकाई सञ्चालन गरेको थियो । उक्त सेवा इकाई स्थापना पछिको सक्रियतामा आ.व.२०७७/०७८ कमलामाई नगरपालिकाले बैङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण सुरु गरेपछि उक्त ठूलो मात्रामा रकम बेरुजु खातामा फिर्ता गएको जानकारी दिनुभयो । आर्थिक बर्ष २०७७/७८ मा कमलामाई नगरपालिका सिन्धुलीलाई २१ करोड २६ लाख ७० हजार ५ सय ७७ रुपैयाँ निकासा दिएको थियो ।
त्यस्तै पञ्जिकरण शाखाका एमआइएस अपरेटर अलिशा खत्री क्षेत्रीले फिर्ता रकम जानेहरूमा बैङ्कको सम्पर्कमा आर्थिक वर्ष सम्म सम्पर्क नआएका लाभग्राहीको नाममा पठाइएको रकम¸ मृत्यु भइसकेको लाभग्राहीहरूको एकै घरका परिवारलाई भत्ता रकम दिए पछि बाँकी रहेको रकम¸दोहोरो दर्ताको कारण निकासा भएको रकम¸ राज्यबाट दोहोरो सुविधा लिएका लाभग्राहीको रकम र देश बाहिर रहेका लाभग्राहीहरूको भत्ता रकम फिर्ता बताउनु भयो। बैङ्किङ प्रणालीमा गएपछि वडाहरूबाट सयौँ लाभग्राहीहरूको विवरण लगत कट्टा भएको थियो। आ.व. २०७७/७८ अन्त सम्ममा कमलामाई नगरपालिका सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको संख्या ७ हजार ४४९ जना रहेको थियो। ‘बैङ्किङ प्रणालीमा लैजादा कतिपय मृत्यु भइसकेका बसाइ सरि गएका, दोहोरो दर्ता भएको र देश बाहिर रेहेका लाभग्राहीको नाम हटाइएपछि सामाजिक सुरक्षा भत्ता बापतको लाखौँ रकम जोगिएको कमलामाई नगरपालिका सेवा इकाईले जनाएको छ। कमलामाई नगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत रहेको सेवा इकाइको सक्रियतामा लाभग्राहीको सूचीबाट हटनुपर्ने समेतको नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ ।
