काठमाण्डौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नु भएको छ।
मुख्यमन्त्री शाहीले आज प्रदेशसभा बैठकमा राखेकोविश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बहिष्कार गरेको आजको बैठकमा २२प्रदेशसभा सांसद उपस्थित भएका थिए ।
यसअघि मुख्यमन्त्री शाहीले हिजो विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आजका लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए । आज प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताउनुभयो ।
कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताउनुभयो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको र उक्त मत कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गर्नु भएको हो ।
मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।००००