काठमाण्डौ । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली विजयी हुनु भएको छ । 

सर्वसहमतिमा पधाधिकारी चयनको प्रयास सफल नभएपछि आज भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मत अन्तरले पराजित गर्नुभएको हो । ओली १ हजार ८ सय ८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रावलले २ सय १३ मत प्राप्त गर्नुभएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, अन्य पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् ।उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढि १हजार ९ सय ७६ मत पाएर विजयी हुन भएको छ । यस्तै, सुरेन्द्र पाण्डेले १९२५ मत, सुवास नेम्वाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवालीले १८४२ मत र रामबहादुर थापाले १७६८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनु भएको छ ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिनु भएका घनश्याम भुसाल पराजित हुन भएको छ । उहाँले ७२५ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा पनि ओलीले प्रस्ताव गरेकाउम्मेदवार मात्र विजयी भएका छन् । सचिव पदमा गोकर्ण विष्टले १९७६ मत, योगेश भट्टराईले १९६४ मत, पद्मा अर्यालले १८०० मत, छविलाल विश्वकर्माले १८०० मत, लेखराज भट्टले १७०४ मत, टोपबहादुर रायमाझीले १७०० मत र रघुविर महासेठले १५१३ मत ल्याएर विजयी हुनु भएको छ ।  

ओलीको सूचीबाहेक उम्मेदवार बन्नु भएका भीम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याएर पराजित हनु भएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिबमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनु भएका थियो ।००००