काठमाडौं। आज बिहीबार दिउँसो कक्षा सञ्चालन भइरहेको समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आकस्मिकरुपमा त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयको अनुगमन पुगेका छन्। शिक्षामन्त्री पौडेलले माध्यामिक विद्यालयको भौतिकरुपमा कक्षा सञ्चालन भइरहेको समयमा अनुगमन गरेका हुन्।  

अनुगमनकाक्रममा निस्केका मन्त्रीले विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। अन्तर्क्रियामा उनले भोलिको भविष्य आजको बालबालिकामा निर्भर रहने र बालबालिकाको भविष्य उज्जल बनाउनकालागि शिक्षकको भुमिका रहने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न अपिल गरेका छन् । अनुगमनकाक्रममा मन्त्रीले विभिन्न कक्षामा गएर शिक्षाका विषयमा विद्यार्थी तथा शिक्षकहरुसँग अन्तर्क्रिया गरेका थिए भने उनले करिब एक घण्टाको समय विद्यालयमा बिताएका थिए ।

मन्त्री पौडेलले विद्यालय अनुगमनको क्रममा सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन यस विद्यालयले निर्वाह गरेको भूमिका निकै राम्रो र प्रेरणादायी छ । भविष्यमा अझ प्रभावकारी भएर परिणाममुखी बनाउनु हुनेछ भन्ने विश्वास लिएको बताए। साथै गुणस्तरीय शिक्षा प्रवर्धन गर्नका लागि मन्त्रालयबाट विद्यालयका लागि आवश्यक सहयोग गर्ने बाचा गरेका छन्। विश्व निकेतन माध्यमिक विद्यालय देशको एक उत्कृष्ट विद्यालय हो जसमा कक्षा १ देखि १२ सम्म पढाइ हुने गरेको छ। यस विद्यालयमा देशभरका करिब तीन हजार ७ सय विद्यार्थी अध्ययनरत छन् भने कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषय पढाइ हुन्छ।