काठमाण्डौ । विभागीय मन्त्रीले चाँसो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन् ।
भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरेपनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ कोरिया पठाउँदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुग्नुभएको थियो । मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सुचनाका आधारमा उहाँ सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्नुभएको हो । पीडित युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका थिए । पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन पनि दिनुभयो ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविष्यमा यस्ता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिनुभयो ।
पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सुचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गर्नुभयो ।उहाँले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताउनुभयो । भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन् ।