काठमाण्डौ । सरकारले आयुर्वेदिक औषधि बनाउन बाबा रामदेवलाई जग्गा उपलब्ध गराउने भएको छ । 

आज पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने बताउनु भएको हो । योगको महत्व संसारभर रहेको बताउँदै प्रधानमन्त्री देउवाले योगगुरु रामदेव योगको महत्वलाई संसारभर चिनाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व रहेको बताउनु भएको छ । योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने उहाँको भनाई थियो । अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

सोही कार्यक्रममानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाबा रामदेव क्रान्तिकारी विचारधाराको व्यक्तित्व रहेको भन्दै प्रशंसा गर्नु भएको छ । अध्यक्ष दाहालले आफूलाई शूरूमा बाबा रामदेव बढी रुढीवादी लागेपनि संगत गर्दै जाँदा त्यस्तो नभएको बताउनु भएको हो । बाबा रामदेवले नेपाली समाजलाई निरोगितातिर लैजाँदै गरेको उहाँको दाबी थियो । यसअघि अध्यक्ष दाहाललाई भेट्न बाबा रामदेव आफैँ खुमलटार पुग्नु भएको थियो ।

 

 

अन्तिम