काठमाण्डौ । सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह समेत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशका साथै नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको बेला समितिले पनि यथाशीघ्र निकासमा जोड दिएको हो ।

यस्तै बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्दनमा जोड दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।