काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बंगलादेशबाट नेपाल आउने हवाई उडान छुटेको छ ।
नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा गएको थियो । कोभिड–१९ प्रोटोकल पालन हुन नसकेपछि नेपाली महिला क्रिकेट टोलीको बिहीबार बंगलादेशको ढाकाबाट काठमाडौं आउने उडान छुटेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । कोभिडको पिसीआर रिपोर्ट नहुँदा विमानस्थलमा नेपाली टोलीलाई प्रवेशमा रोक लगाइएको थियो । क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ ।
हवाई उडान छुटेपछि नेपाली टोली बसबाट नेपालको यात्रा गर्ने जनाइएको छ । नेपाली टोली बिहिबार साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ ।
नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट रहेका छन् । बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिमले सिरिज जितेको थियो ।
बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्ने तालिका रहेको छ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।