काठमाण्डौ । नेकपा एमालेले आसन्न १० औं राष्ट्रिय महाधिवेशनमा खर्च हुने रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ ।
आज बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु १ सयका दरले संकलन गर्ने निर्णय गरेको हो । उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने एमालेले जनाएको छ । आजको बैठकले विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ । चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ ।
महाधिवेशनमा विभिन्न ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेको तयारी छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । विद्युतीय प्रणालीमार्फत मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी गरेको छ । एमालेले महाधिवेशनको प्रचार प्रसार भित्तेलेखन र पोष्टर पम्प्लेटबाट नगरी डिजिटल माध्यमबाट गर्ने र त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने भएको छ ।००००