काठमाण्डौ । बैंकिङ्ग प्रणालीमा तरलता सहज नहुँदा ब्याजदर अझै बढ्न सक्ने र मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा शेयर धितो कर्जालाई थप कडाई गरिने हल्लाले शेयर बजार ओरालो लाग्न थालेको छ।
तिहारपछिको पहिलो कारोबार दिन साेमबार १० अंकले घटेको नेप्से सूचक मंगलबार पनि झण्डै ८० अंकले घटेको छ। बैंकहरुमा निक्षेप संकलन खासै बढ्न नसकेको कारण लगानीयोग्य रकम बढ्न सकेको छैन। अहिले बैंकिङ्ग प्रणालीको तरलता समेत १४ अर्बको हाराहारी छ। यसले गर्दा मंसिरदेखि बैंकहरुले थप ब्याजदर बढाउन सक्ने हल्लाले शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ।
यस्तै केन्द्रिय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी गरिरहँदा शेयर धितो कर्जामा थप कडाइ गर्न सक्ने हल्लाले पनि बजारका बिक्रीचाप बढेको छ।
मंगलबार नेप्से सूचक ७९.७९ अंकले घटेर २७.४९.८६ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १६.०२ प्रतिशतले घटेको छ।
मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड १९ लाख १७ हजार ०७७ कित्ता शेयर कारोबार भएको छ।