काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीलाई अब कुरुक्षेत्र नभइ धर्मक्षेत्र हुने दाबी गरेका छन् ।
माडीमा आयोध्याधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘अब कुरुक्षेत्र होइन, धर्मक्षेत्र हुन्छ यहाँ । शान्तिक्षेत्र हुन्छ, पवित्र क्षेत्र हुन्छ । मिलेर देश विकास गर्ने संकल्प गरेको क्षेत्र हुन्छ यहाँ,’ ओलीले भने, ‘अनि कुरुक्षेत्र? कुरुक्षेत्रै गर्न खोजेको हो भने मैले भन्न चाहन्छु कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए ।’
साथै, उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन लागेको टिप्पणी गरे । प्रचण्डलाई प्रश्न गर्दै ओलीले भने, ‘कुरुक्षेत्र किन बनाउँछु भनेको भन्दा आफ्नो जन्मथानमा सितारामको प्रतिमा बढ्ने भो, यहाँ पर्यटक ओइरने भयो, दुनियाँको गन्तव्यस्थल बन्नेछ यो? अर्को वर्ष नेपालका १० वटा गन्तव्यभित्र पार्न सक्छ । अलिक २/४ वर्षपछि पहिलो गन्तव्य बनिसक्छ । आज पो घाँस पलाइरहेको होला, भोलि त यहाँ मन्दिरै मन्दिर हुन्छ । ज्ञानभूमि हुन्छ, तपोभूमि हुन्छ । अनि त्यो हुन आँट्यो भनेर कुरुक्षेत्र बनाउँछु भन्ने?’
अब माडीले विकास गर्ने तर्क गर्दै ओलीले भने, ‘तर अब माडीले विकास गर्छगर्छ । यो माडी चितवनमा परेको, प्रदेश नम्बर ३ मा परेको किन पर्यो ३ नम्बरमा भने राजधानी प्रदेश चीनसँग पनि सिमाना जोडिएको हुनुपर्छ, भारतसँग पनि यसको सम्बन्ध जोडिएको हुनुपर्छ । राजधानी दुवैतिर पुग्नुपर्छ भनेर दुई ठाउँमा मैले अत्यन्तै जोड दिएँ ।’
साथै, ओलीले रामको जन्मभूमि अयोध्यापुरी भएको इतिहास आफूले यथार्थ उत्खनन् गरेको बताए । यो ठाउँको महत्व असाधारण भएको ओलीको भनाइ छ । उनले भने, ‘त्यसकारण यो ठाउँको महत्व असाधारण छ । म साथीहरूलाई यसको संरक्षण गर्न आग्रह गर्दछु ।’