काठमाडौं । प्रदेश नं १ ले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। 

नेकपा (एकीकृत समाजवादी) प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन्।  प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि आज दिउँसो १ बजेसम्मको समय दिएका छन्।  

सोही बमोजिम विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदको समर्थनसहित राईले हिजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत (समाजवादी) का १०, नेकपा (माओवादी केन्द्र) का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० सांसद रहेका छन्। 

मुख्यमन्त्री नियुक्त भए लगत्तै राईले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।