काठमाण्डौ । बेमौसमी वर्षाका कारण आएको बाढीले पूर्वका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालित ४१ औद्योगिक प्रतिष्ठानमा करिब साढे दुई अर्ब रुपैयाँबराबरको क्षति पुर्‍याएको छ ।

उद्योग संगठन मोरङले आइतबार सार्वजनिक गरेको औद्योगिक क्षेत्रमा बाढीपछिको प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार १ कात्तिकदेखि ३ गतेसम्म परेको अविरल वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको हो । संगठनले सुनसरी–मोरङ र विराटनगर–कटारी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरूमा परेको प्रभाव र क्षतिको अध्ययन गरेको थियो । बाढीपश्चात् संगठनले स्थलगत अवलोकन तथा अनलाइनमार्फत तथ्यांक संकलन गरेको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘४१ उद्योगमा दुई अर्ब ४७ करोड ८९ लाख रुपैयाँबराबरको क्षति भएको छ,’ उनले भने, ‘बेमौसमी वर्षाका कारण पूर्वका धेरै उद्योगहरू प्रभावित भएका छन् ।’

बाढी र डुबानले सबैभन्दा बढी प्रभावित उद्योगहरू बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको अध्ययनले देखाएको छ । विश्वव्यापी मौसममा भएको परिवर्तन, वातावरण विनाशलगायतका कारण कात्तिकमा अप्रत्याशित वर्षा हुनु, केही घन्टा परेको पानीले ठूलो क्षति पुर्‍याउनु मानव सिर्जित समस्या पनि भएको अध्ययनमा खटिएको टोलीको निष्कर्ष छ । धरान–विराटनगर राजमार्गमा पूर्व–पश्चिममा रहेका कल्भर्टहरू सबै ६ लेनको बाटो बनाउँदा हटाइएको संगठनको भनाइ छ ।

प्रतिवेदनअनुसार मेसिन औजारमा ९८ करोड १७ लाख, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख, तयारी वस्तुमा ७६ करोड चार लाख र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख रुपैयाँबराबरको क्षति भएको छ । अप्रत्याशित रूपमा आएको बाढी र डुबानले उद्योगभित्र रहेका धेरै कच्चापदार्थ र तयारी मालवस्तु नष्ट भएको संगठनका अध्यक्ष प्याकुरेलले बताए ।

बाढी र डुबानका कारण उद्योगहरू बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्च, उत्पादनको अवसर मूल्य तथा बजार शृंखला टुट्न गई ठूलो व्ययभार थपिएको अध्ययनले देखाएको छ । संगठनका अनुसार अध्ययनमा समेटिएका ४१ वटा उद्योगहरूको दैनिक प्रशासनिक खर्च करिब पाँच करोडको हाराहारीमा रहेको छ ।